*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

यौनकर्मी महिला कस्ता-कस्ता ??

यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गएको पछिल्लो एक अध्ययनले देखाएको छ । फेमेली हेल्थ इन्टरनेसनलले २००९ मा तराईका २२ जिल्लाका ६ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले २६ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो ।
अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो ।
यौनव्यवसायमा संलग्नमध्ये २८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ५५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ६६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ । 'परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्,' अनुसन्धान प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् ।
यौनव्यवसायमा संलग्न महिलाको शैक्षिकस्तर निकै कम भएको अनुसन्धानले देखाएको छ । उनीहरूमध्ये करिब ५२ प्रतिशत निरक्षर छन् । निरक्षर यौनव्यवसायी महिलाले शिक्षाका लागि जीवनमा एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले देखाएको छ । ६ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७ प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स गरेका छन् या त लोग्ने छाडेर बसेका छन् ।

त्यस्तै, ६ प्रतिशतभन्दा बढी विधवा पनि यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ । करिब ५९ प्रतिशत यौनकर्मीको परिवारमा आश्रति पनि छन् । करिब ५८ प्रतिशत विवाहित छन् । २४ प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूको श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका थिए ।

सर्वेक्षणमा सहभागी यौनकर्मी महिलामध्ये ८० प्रतिशतसँग सर्वेक्षणकर्ताले प्रत्यक्ष भेटेका थिए । अन्यसँग यौनकर्मी महिला, विभिन्न संगठनका प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमार्फत भेट गरिएको थियो । त्यस्तै, अनुसन्धानमा सहभागी ६ सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी एड्सको पनि संक्रमण पाइएको छ । करिब ५८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर छन् ।

करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौनकार्यमा सरिक हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८ प्रतिशतभन्दा बढी यौनकर्मीले कन्डम निःशुल्क पाउने गरेका छन् । उनीहरूले कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरूले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशतभन्दा बढीले उनीहरूको व्यवसाय सञ्चालित क्षेत्रबाट पाँच मिनेटमै कन्डम प्राप्त गर्न सक्ने बताए । परिवार नियोजनको साधनको प्रयोगबारे सोधिएको प्रश्नमा अधिकांशले कन्डम र सुईमार्फत प्रयोग गरिने परिवार नियोजनका अस्थायी साधनबारे बताएका थिए ।

त्यस्तै, ५० प्रतिशत यौनकर्मी महिलाले लगाउने कन्डमको बारेमा सुनेका छन् । विवाहित यौनकर्मी महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।

अधिकांश यौनकर्मी महिलाले एचआइभी/एड्स रोगबारे सुनेको बताए । ९२ प्रतिशतले रेडियोबाट एचआइभी/एड्सबारे जानकारी पाएको बताएका थिए । त्यस्तै, सर्वेक्षणकै क्रममा पनि करिब तीन प्रतिशत यौनकर्मी महिलाले आफूलाई विभिन्न यौनसमस्या रहेको बताएका थिए ।

३१ प्र्रतिशतले नौदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए । १५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै, झन्डै ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६० प्रतिशत छन् ।

२० प्रतिशतभन्दा बढी यौनव्यवसायीका दैनिक ग्राहक ३/४ जना हुने गरेका छन् ।

यौनव्यवसायीका ग्राहक मुख्य ६ प्रकारका रहेको अध्ययनले देखाएको छ । तिनमा यातायात मजदुर, व्यवसायी, सेवा क्षेत्रमा कार्यरत, प्रहरी, औद्योगिक मजदुर र सेना छन् । यौनव्यवसायी महिलाका मुख्य ग्राहकका रूपमा रहेका यातायात मजदुरको संख्या ५७ प्रतिशत छ । अन्तिमपटक कुन पेसामा आबद्धसँग यौनसम्पर्क गर्नुभयो भन्ने प्रश्नमा धेरैको जवाफ 'यातायात मजदुर' भन्ने थियो ।

त्यस्तै, यौनकर्मी महिलाले विभिन्नखाले यौनहिंसाको सिकार हुनुपरेको अध्ययन प्रतिवेदनले दाबी गरेको छ । उनीहरूले जबर्जस्ती यौनसम्पर्क गर्नुपरेको समेत बताए । जसका कारण उनीहरू एचआइभीलगायत यौनरोगको उच्च जोखिममा पर्ने गरेका छन् । सर्वेक्षण गरिएका पश्चिम तराईका ६ जिल्लाका दुई सय यौनव्यवसायीमध्ये ३३ प्रतिशतभन्दा बढीले बाध्यात्मक रूपमा यौनसम्पर्क गर्नुपरेको बताएका छन् । त्यस्तै, पूर्वी तराईका १६ जिल्लाका चार सय यौनव्यवसायीमध्ये १९ प्रतिशतभन्दा बढीले विगतमा ग्राहकले यौनसम्पर्कका लागि बाध्य पारेको बताएका छन् । २६ प्रतिशत यौनव्यवसायीले ग्राहकले भनेअनुसार गर्न नसक्दा पारिश्रमिकसमेत नपाउने गरेको गुनासो गरेका छन् ।

यौनव्यवसायमा युवतीको सहभागिता बढ्दो रहेकाले एचआइभी/एड्स नियन्त्रणका कार्यक्रम उनीहरूप्रति लक्षित गरिनुपर्ने अनुसन्धानको निष्कर्ष छ । यौनव्यवसायीलाई कन्डमको सहज पहुँच पुर्?याउन एनजिओमार्फत कन्डम वितरण कार्यक्रमलाई अझ विस्तार गरिनुपर्ने, विद्यालयस्तरमै यौनशिक्षा दिन सके जनचेतना जगाउन सकिने अध्ययनको निष्कर्ष छ ।

सर्वेक्षण दुई चरणमा गरिएको थियो । पहिलो चरणमा कपिलवस्तुदेखि कञ्चनपुरसम्मका दुई सय यौनकर्मी महिलामा र दोस्रो चरणमा कपिलवस्तुपूर्व झापासम्म सर्वेक्षण गरिएको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada